जयपृथ्वीबहादुर सिंहलाई राष्ट्रिय विभूति घोषणा गर्ने सरकारको निर्णय

जयपृथ्वी १९३४ भदौ ५ गते बझाङमा जन्मिएका हुन् । उनी जंगबहादुर राणाका भान्जा हुन् । उनको बाल्यकालको शिक्षादीक्षा काठमाडौंको थापाथली दरबारमा भएको थियो । उनले म्याट्रिकुलेसनदेखि स्नातकसम्म भारतका कोलकाता र प्रयागमा पढे । उनको विवाह चन्द्रशमशेरकी छोरी खगदिव्यश्वरीसँग १९५१ सालमा भयो । विवाहपश्चात् उनले ससुरालीबाट पश्चिमका छान्नादरा, कुन्नादरा, डिलकोटेली दरा, सटिकादरा बिर्ता पाएका थिए । उनले लेखेको ‘अक्षरांक शिक्षा’ नामक पुस्तक नेपाली भाषाको पहिलो पाठ्यपुस्तक मानिन्छ। ‘प्राकृतव्याकरण नामक’ अर्को पुस्तक पनि गोरखापत्र छापाखानाबाट वि.सं १९६९ प्रकाशित भएको थियो। उनी १९४७ सालमा बझाङका राजा भए । उनले राज्यभूमिको बीच, सबैलाई पायक पर्ने ठाउँमा आफ्नो दरबार र राज्य सञ्चालन गर्न अड्डाखाना स्थापना गरे । त्यो ठाउँको नाम जयपृथ्वी नगर राखे । जयपृथ्वीले १९६३ सालमा काठमाडौं, नक्सालस्थित आफ्नै दरबारमा सत्यवादी पाठशाला खोलेका थिए । त्यसको हेडमास्टर उनी आफैं थिए । त्यहाँ पढाइ हुने पाठ्यपुस्तक उनले नै लेखेका थिए । त्यतिबेला चारपासेलाई सरकारी सेवा प्रवेश गर्न मान्यता दिइन्थ्यो । पछि त्यही सत्यवादी पाठशालालाई तत्कालीन राणा प्रधानमन्त्री चन्द्रशमशेरले बन्द गरिदिने आशंकामा जयपृथ्वीले १९६९ सालमा बझाङको जयपृथ्वीनगरमा सारेका थिए । जयपृथ्वीले नेपालकै पुरानो पत्रिका गोरखापत्रको संस्थापक र प्रधान सम्पादक भई मुलुकमा जनचेतना जगाउने कामसमेत गरे। तत्कालीन श्री ३ चन्द्रशमशेरसँग बेलायत भ्रमणमा जाँदा बेलायती सम्राट एडवर्डसँग पत्रकार तथा गोरखापत्रका प्रधान सम्पादकको हैसियतले उनले अन्तर्वार्ता लिँदा सम्राट् प्रभावित भएको बताइन्छ । त्यतिबेला राणा परिवारबाहिर कर्णेल पदभन्दा माथिको ठूलो पद दिन नमिल्ने जहानियाँ राणाशासनको नीतिगत व्यवस्था भए पनि जयपृथ्वीलाई सम्राटले बेलायतको ‘अनररी कर्णेल’ पदले सम्मान गरेका थिए । चन्द्र शम्शेरसँगको मनमुटावका कारण जयपृथ्वीबहादुर सिंह राज्य त्याग गरी वि. स‌ं. १९७३ सालमा प्रवासी बनेका थिए । भाषा, साहित्य, पत्रकारिता, शिक्षा, स्वाथ्य, समाज सुधारको क्षेत्रमा अग्रणी भूमिका खेलेका सिंहको निधन वि. स‌ं. १९९७ असोज १ गते भारतको बेंग्लोरमा भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *