
सिद्धार्थ गौतमका बाबु शुद्धोदन तत्कालीन तिलौराकोट राज्यका शाक्यवंशका राजा थिए। यिनकी आमाको नाम मायादेवी थियो । भनिन्छ रानी मायादेवी आफ्नो माइत देवदह जाने क्रममा बाटोमा पर्ने लुम्बिनी भन्ने ठाउँमा पुग्दा प्रसव व्यथाले भेटेपछि आरामका लागि बसिन् । त्यहीँ उनलाई पुष्करिणी सरोवरको किनारमा एउटा रुखको फेदमा सुस्ताउँदै गर्दा बालक सिद्धार्थको जन्म भएको थियो ।भगवान् सिद्धार्थ गौतम बुद्ध धर्मका प्रणेता हुन् । अधिकांश बौद्ध परम्पराले उनीलाई हाम्रो कल्पका एक सम्यक सम्बुद्धको रूपमा मान्दछन् । बुद्ध भन्नाले बोधिप्राप्त वा अन्तिम सत्यको साक्षात्कार गरेको महामानव बुझिन्छ । गौतम बुद्धको बास्तबिक नाम सिद्धार्थ गौतम थियो। बालक सिद्धार्थको जन्म भएको ७ दिनपछि सौतेनी आमा गौतमी ले पालनपोषण गरेको हुनाले सौतेनी आमाको नामबाट बालकको नाम गौतम पनि रहन गएको हो ।सिद्धार्थ बुद्धको जन्म बैशाख शुक्ल पूर्णिमाको दिन हाल नेपालको रूपन्देही जिल्लाको लुम्बिनीमा भएको थियो ।उनले आफ्नो जीवनकालको पहिलो २९ वर्ष पिताद्वारा प्रदत्त राजसी सुखमा बिताए। तर पनि उनी सदा संसारमा व्याप्त दु:खको कारण र त्यसको निवारण के होला ? भनी चिन्तित रहन्थे। सिद्धार्थ बुद्धको कथा अनुसार उनी पुर्व जन्मका बोधिसत्व भएकोले मानिसको दुःखको कारण र दुःखको निवारण के हुन सक्छन् भन्ने कुरामा निकै संबेदनसिल थिए। केही न केही मार्ग त अवस्य हुन सक्छ भन्ने प्रश्नोत्तर अधुरो र धुलमिल रुपमा उनको मनमा आभाष भइसकेको थियोे । कठिन ध्यान र खोजको माध्ययमबाट दु:ख निवारणको सत्यमार्ग पत्ता लगाउने उद्देश्यले २९ वर्षको उमेरमा गृहत्याग गरी सिद्धार्थ भारतको विभिन्न ठाउँमा सात वर्षसम्म कष्टदायक तपस्या गर्दै हिंडे। अन्तत: कष्टदायक मार्गले सत्यको प्राप्ति हुन सक्दैन भन्ने महशुस गरी मध्यमार्गको अवलम्बन गर्ने अठोट गरे। भारतको बोधगया भन्ने ठाउँमा एक पिपलको बृक्ष मुनि अधिष्ठानपूर्वक ध्यान गर्दा गर्दै उनलाई सम्यकसम्वोधि प्राप्त भयो र त्यसपछि उनी सम्यक सम्बुद्ध कहलाईए। त्यसपछि ४५ वर्षसम्म उनी भारत र नेपालका बिभिन्न ठाउँ पुगी दु:ख निवारण सम्वन्धी आफूलाई प्राप्त महाज्ञान बाँड्न रातदिन लागिपरे।नेपालको लुम्बिनीमा आजभन्दा करिब छब्बिस सय वर्ष पहिला जन्मिएका गौतम बुद्धको ख्याती हाल विश्वभर फैलिएको छ ।आज भोलि धेरै देश का मानिसहरू एक आदर्श, तत्वज्ञानी पुरूषको रूपमा र बौद्ध धर्मावलम्बीहरू आफ्नो धर्मका पर्वतकका रूपमा गौतम बुद्ध लाई निकै श्रद्धाका साथ सम्मान गर्दछन् ।