महागुरु फाल्गुनन्द लिङदेन

महागुरु फाल्गुनन्द लिङदेनको जन्म बि. सं. १९४२ साल कातिक २५ गते आइतवार राती नेपालको कोशी प्रदेश माङसेबुङ गाउँपालिका वडा नं. २ मा बुबा जगुनबाज लिङदेन र आमा हंसमति बेघा लिङदेनको कोखबाट साइँला छोराको रूपमा सामान्य किसान परिवारमा भयो। महागुरु फाल्गुनन्द लिङदेन किराँत धर्मका महागुरु तथा समाज सुधारक थिए। महागुरु फाल्गुनन्द आफ्नो जीवनको अन्तिम अवस्थासम्म भाषा, लिपि, संस्कार संस्कृति, सम्मान शिक्षा, समाज सुधारका निम्ती किराँत धर्मको उत्थान तथा संरक्षणको निमित्त लागिरहे। वि. सं. २००५ सालमा उनको देहान्त भएपछि किराँत सङ्घ संस्थाहरूले हरेक वर्ष कार्तिक २५ गते फाल्गुनन्द जन्म जयन्ती मनाउदै आएका छन् । वर्तमान अवस्थामा महागुरु फाल्गुनन्दले समाज सुधारका निम्ति वि. सं. १९८८ वैशाख २४ गते स्थापना गरेको ‘सत्य धर्म मुचुल्का’को नीति विश्व समुदायले अनुसरण गर्न थालेका छन्।त्यसैले आफ्नो मौलिकतालाई बिर्सिएर पथ भ्रष्ट हुन हुदैन, मदिरा सेवनगरी असामाजिक क्रियाक्लाप गरी मति भ्रष्ट हुनु हुदैन, बिबाहमा आफ्नो आर्थिक गच्छे भन्दा अत्याधिक तडक भडकसँग खर्च गरी उक्सनै नसक्ने आर्थिक दलदलमा फस्न हुन्न। समाजका जननी ‘युमा साम्माङ’ नै नारी भएका हुनाले समाजमा नारीलाई उच्चो स्थान दिनु वा सम्मान गर्नु पर्दछ ।‘मेजमान’ तथा खानका लागि पशु, प्राणीको हत्या गर्नु हुन्न, पशुबली नगर्नु, त्यसको अलवा फलफूल, नैबेद्ध, चढाएर मात्र ‘माङसेवा’ गर्नु भन्दै सामाजिक चेतना फैलाउथे। फाल्गुनन्दलाई महान धार्मिक तथा समाज सुधारक, आफ्नै मौलिक भाषा, लिपीको अध्ययन गर्नु पर्छ भन्ने महान शिक्षाका ज्योती अनि तत्कालिन सामाजिक अर्थ ब्यावस्थालाई राम्ररी आंकलन गरी समाजलाई आर्थिक दलदलबाट उकास्न समाजका लागि ब्यावहारीक आर्थिक नीति नियम बनाउने एक कुशल अर्थबिदको रूपमा पनि लिन सकिन्छ। वास्तबिक शान्ति भनेको शिक्षा,ध्यान, तप र धर्म तथा मौलिक्ताको पहिचान भएमा मात्र आउछ भन्ने कुराको ज्ञान उनले बाँडेका थिए। उनको उक्त कार्यको कारणले महागुरु फाल्गुनन्दलाई नेपाल सरकारले बि.स. २०६६ साल मङ्सिर १६ गते राष्ट्रिय विभूति घोषणा गर्यो।सरकारले विसं २०५० सालमा महागुरु फाल्गुनन्दको नाममा सम्मान स्वरुप रु १५ को हुलाक टिकट प्रकाशन गरेको थियो । विसं २०७२ मा फाल्गुनन्द जन्मजयन्तीको अवसरमा किरात धर्मावलम्बीहरुका लागि सरकारी सार्वजनिक विदा दिने निर्णय भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *