
वि.सं. १९२३ भाद्र २५ गते कुशेऔंसीका दिन काठमाडौंको भोसीको टोलमा पिता दयाराम भट्ट, माता रिपुमर्दिनीदेवी भट्टका सुपुत्रका रूपमा मोतीराम भट्टको जन्म भएको हो । मोतीराम भट्ट नेपाली साहित्यमा भानुभक्त आचार्य पछि आउने सशक्त व्यक्तित्व हुन् । भानुभक्तलाई चिनाउने काम पनि मोतीरामबाटै भएको हो । नेपाली पत्रकारिताको सुरुवातकर्ता पनि मोतीराम नै हुन् । नेपाली भाषाको पहिलो पत्रिका ‘गोरखा भारत जीवन’ प्रकाशनका साथै सम्पादन गर्ने कार्य मोतीरामबाटै भएको हो । उनले मोतीराम पुस्तकालय, पाशुपत छापाखाना खोल्ने काम पनि गरे । वनारसमा वस्दा गजल र समस्या ( पूर्ति जस्ता नौला काव्यविधाको प्रवेश नेपाली साहित्यमा गराए । भानुभक्तका रामायण, भक्तमाला, रामगीता प्रश्नोत्तरी जस्ता काव्यलाई सम्पादन गर्ने काम पनि गरे । नेपाली साहित्यका प्रथम जीवनी लेखक पनि मोतीराम भट्ट हुन् । वि.सं. १९४८ सालमा मोतीरामले भानुभक्त आचार्यको जीवन चरित्र नामक जीवनीको पुस्तक लेखेका थिए । साथै उनले भानुभक्तका कृतिको समालोचना गरी नेपाली साहित्यमा समालोचनाको आरम्भ गरे । यही कृतिमा भानुभक्तलाई उच्च सम्मान गर्दै आदिकविको उपाधि दिए । मोतीराम नेपाली साहित्यका अन्वेषक पनि हुन् । भानुभक्तको कृतिको खोजी गर्ने, पाण्डुलिपि खोजेर छपाउने कार्यबाट पनि यिनी नेपाली साहित्यका कुशल अन्वेषक थिए भन्ने पुष्टि हुन्छ । मोतीराम भट्ट नाटककार तथा निर्देशक पनि थिए । भट्ट आफैले शकुन्तला, प्रिदर्शिका र पद्मावली जस्ता तीन नाटकहरू लेखेका थिए । आफूले लेखेका नाटक निर्देशन पनि गरे । यसरी नेपाली साहित्यिक क्षेत्रमा अतुलनीय कार्य गरेकोले उनलाई नेपाल सरकारले विभूति घोषणा गरेको थियोे ।