
सीता मिथिलाको राजा जनकको सबैभन्दा जेठी छोरी थिईन। उनको विवाह अयोध्याका राजा दशरथको ज्येष्ठ सुपुत्र राम सँग भएको थियोे । भगवान् मर्यादा पुरूषोत्तम रामकी पत्नी, धर्मानुरागी, आदर्शराजा दशरथकी बुहारी र राजषिॅ जनककी छोरी सीता नेपाल भूमिकी गरिमामयी पुत्री हुन्। आदर्शपत्नी, आदर्शमाता, आदर्श भाउजू, आदर्श बुहारी, आदर्श महारानी र समग्रमा भन्नु पर्दा आदर्श नारीका रूपमा बहुचर्चित सीता नेपाल पुत्री भएकीले उनलाई राष्ट्रिय विभूति मानिएको छ। उनी नेपालकी पौराणिक प्रथम नेपाली महिला विभूति हुन्। उनको आदर्श, सच्चरित्रता, सतीत्व, नारीत्व, मातृत्वासल्य, करूणामयी व्यक्तित्वका कारण संसारभरि उनी जगज्जननीका रूपमा पूजिन्छिन।