बलभद्र कुँवर

बलभद्र कुँवरको जन्म हालको काभ्रेपलान्चोक जिल्लाको पाँचखाल नगरपालिकामा पर्ने भमरकोटमा सुब्बा चन्द्रवीर कुँवर र अम्बिका देवीका कान्छा छोराको रूपमा भयो । उनको बुवापट्टिका हजुरबुवा सरदार जयकृष्ण कुँवर हुन् र मावली हजुरबुवा अमरसिंह थापा हुन् । त्यसैले काजी रणजोर थापा उनका मामा हुन् । बलभद्र कुँवर नेपाली सेना (तत्कालिन गोरखाली सेना)को पुरानो गोरख गणको कप्तान थिए। उनले देहरादुनको बाहिर नालापानीको युद्धमा गोरखाली सेनाका नेतृत्व गर्दै लडेका थिए। उनले नेपाल ब्रिटिस युद्धमा नालापानीमा नालापानीको रक्षाको निमित्त नेपालको तर्फबाट करिब ६०० जनाको नेतृत्व गर्दै खटिएका थिए । १८१४ अक्टोबर २२का दिन लेफ्टिनेन्ट जनरल जिलेस्पि दुन उपत्यका प्रबेश गरेका थिए । उक्त इलाकाको रक्षार्थ पुरानो गोरख गणका कप्तान बलभद्र कुँवरलाइ जिम्मा लगाइएको थियो । दुन उपत्यका भन्दा झण्डै ८ किमी उत्तरको उच्च स्थानमा रहेको खलङ्गामा किल्ला बनाइएको थियो । नेपाली फौजसित हतियारका नाममा केही तोप, भरुवा बन्दुक, ढुङ्गामुढा, खुकुरी, धनुष बाण, भालाजस्ता अल्पविकसित साधनहरू मात्रै थिए । अङ्ग्रेजहरूका आधुनिक हतियार र सुसङ्गठित ठूलो फौजको सामना गर्नु नेपाली सेनालाई फलामको चिउरा चपाउनु बराबरको काम थियो । त्यसै बखत ३० अक्टोबरका दिन गिलेस्पीले आफ्ना मतहातमा भएका ३५०० भन्दा बढी सेनाको साथमा किल्लामाथि आक्रमण सुरू गरे । किल्लातर्फ बढेका अङ्ग्रेज फौजका केही अधिकृत जवान मात्र बाँच्न सफल भए । लेफ्टिनेन्ट एलिससहित अङ्ग्रेजका धेरै सेनाहरू युद्धमा मारिए । प्रथम प्रयास असफल भएपछि अङ्ग्रेजहरूले थप तयारी गरी दोस्रो पटक हमला गरे । दोस्रो पटक जनरल गिलेस्पी समेत मारिए । गिलेस्पीको मृत्युपश्चात् तितर-वितर फौजको नेतृत्वका भार कर्नल माँबीले सम्हाले । माँबीको पटक-पटकको आक्रमण असफल भएपछि अङ्ग्रेजहरू युद्धद्वारा नेपाली वीर गोर्खालीलाई परास्त गर्ने आशा मारे । त्यसपछि अङ्ग्रेजहरूले कूटनीति अपनाई किल्लाभित्र गएर र पानीको मुहान थुनिदिए । अङ्ग्रेजहरूको उक्त धोकापूर्ण चालले नेपालीले पानीसमेत पिउन पाएनन् । पानीको प्यासले किल्लाभित्र हाहाकार मच्चिन थाल्यो । बाहिरबाट शत्रुका तोपहरूको अग्निवर्षा जारी थियो भने भित्र सारा फौज प्यासले तड्पिरहेका थिए । त्यस्तो दर्दनाक परिस्थितिमा जीवित रहेका बाँकी वीर सेनाको हितका लागि बलभद्रले स्वतः किल्ला छोड्नुपरेको थियो । नेपाली फौजको तुलनामा लगभग ८ गुणा शक्तिशाली सैनिकको नेतृत्व गरेर आएका अंग्रेज सेनापति मेजर जनरल सर रोबर्ट रोले जिलेस्पी तथा अन्य धेरै सिपाहीहरु नेपालीको हातबाट मारिए । यस युद्धमा अङ्ग्रेज फौजको ठूलो क्षति भएको थियो । कमान्डर बलभद्र आफूसँग बचेका झन्डै ७० सेनाका साथ अंग्रेज फौजकै अगाडिबाट नांगो खुकुरी नचाउँदै किल्लाबाट बाहिरिएको घटनालाई अंग्रेजहरू स्वयं मुक्तकण्ठले प्रशंसा गर्न बाध्य भए । अंग्रेजविरुद्धको त्यो प्रतिरोध युद्ध विश्वको युद्ध इतिहासमै बहादुरीको उत्कृष्ट नमुना साबित भयो । आफ्ना सबैभन्दा सुयोग्य कमान्डर जिलेस्पीलाई गुमाउँदा इस्ट इन्डिया कम्पनी मर्माहत भएको थियो । जिलेस्पीले त्यसअघिका सबै युद्धमा विजय प्राप्त गरेका थिए । यस युद्धमा नेपालीहरूको हार भएपनि नेपाली वीरताको कदर गर्दै हाम्रा वीर शत्रु बलभद्र र उनका वीर गोरखालीहरुको स्मृतिमा सम्मानोपहार भन्ने शिलालेख स्थापित गरी प्रत्येक शवलाई दोसल्ला ओढाई सम्मान गरे । युद्ध पश्चात् नेपालीहरूको पराक्रम र बहादुरीको प्रशंसा गर्दै अङ्ग्रेजहरूले एक युद्ध स्मारकको स्थापना गरे । यस युद्धमा नेपालीहरूको हार भएपनि उक्त स्मारकको शिलालेखमा लेखिएको छ – हाम्रा वीर शत्रु बलभद्र र उनका वीर गोर्खालीहरूको स्मृतिमा सम्मानोपहार भन्ने शिलालेख स्थापित गरी प्रत्येक शवलाई दोसल्ला ओढाई सम्मान गरे । यो विश्वभरिको एक मात्र त्यस्तो उदाहरणीय स्मारक मानिएको छ जहाँ कुनै सेनाद्वारा आफ्नो शत्रु सेनाको अद्भूत वीरतालाई उल्लेख गरिएको छ । भारतको उत्तराखण्ड राज्य अन्तर्गत पर्ने देहरादूनको नालापानीमा पर्ने खलङ्गा किल्लाले नेपाल र नेपालीको गौरवमय इतिहास बोकेको छ । वीर बलभद्रको वीरताका सामु कसैसँग नझुक्ने अंग्रेज झुक्यो र नालापाीमा वीर बलभद्रको सम्मानमा मोनमेन्ट निर्माण गर्यो र अभिलेख राख्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *