
पृथ्वीनारायण शाहको जन्म वि.सं. १७७९ पुष २७ गते बिहिबार गोरखा दरबारमा पिता नरभूपाल शाह र आमा रानी कौसल्यावतीको कोखमा भएको थियो। शाहको हेरविचार महारानी चन्द्रप्रभावतीले गरेकी थिइन् र सुरूदेखि नै उनलाई रामायण, महाभारत र पछि गएर शुक्रनीतिको ज्ञान दिइएको थियो। धनुवाण, तरबार, घोड सवारी दौड आदिमा पनि उनी निपूर्ण भएको मानिन्छ। श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाह वि.सं.१७७९ पुस २७ गते जन्मिएका थिए। बि .सं. १७९९ मा राजा नरभूपाल शाहको मृत्यू भएपछि पृथ्वीनारायण २० वर्षको उमेरमा गोरखाका राजा भएका थिए। स-साना राज्यहरूमा बाँडिएका बाईसे तथा चौबिसे राज्यहरूलाई एकत्रित गरी एउटै देशको सृजना गर्ने यिनी आधुनिक नेपालको राष्ट्रनिर्माताको रूपमा चिनिन्छन्। जपृथ्वीनारायण शाह इतिहासकै असाधारण क्षमता भएका, रणकौशल, कूटनीतिक, राजनीतिक, सामाजिक, सांस्कृतिक रुपले सफल राजा हुन् । पृथ्वीनारायण शाहले राष्ट्रको निर्माणमात्रै गरेनन् कि साम्राज्यवादका विरुद्ध लड्न सक्ने तागत नेपालसँग पनि छ भन्ने सन्देश ब्रिटिसहरुलाई दिए । यदि उनले एकीकरण अभियान नथालेको भए नेपाललाई ब्रिटिसहरुले उपनिवेश बनाउने थिए ।पृथ्वीनारायण शाहले सुरू गरेको एकिकरण अभियान बढ्दै गएर नेपाल राज्यको सिमाना पूर्वमा टिष्टा नदी, दक्षिणमा मगध र पश्चिममा सतलज नदी सम्म विस्तार भएको थियो। विक्रम संवत १८७१ कात्तिक १८ गते सुरु भएको नेपाल अङ्ग्रेज युद्ध पश्चात् सुगौली सन्धि सम्म यो भू-भाग नेपाल अधिनमा रहेको थियो। पृथ्वीनारायण शाहले वि.सं. १८३१ माघे सङ्क्रान्तिका दिन ५२ वर्षको उमेरमा नुवाकोट जिल्लाको देवीघाटमा देहत्याग गरेपनि नेपाल एकीकरण अभियान बुहारी रानी राजेन्द्र लक्ष्मी, छोरा बहादुर शाह लगायतले अगाडि बढाइ रहेका थिए। विश्वका कैयौँ देशहरू अन्धकारमा रहेका बेला पृथ्वीनारायण शाहले नेपालको एकीकरण गरेर नेपालको अस्मिता बचाउने काम गरेका हुन् । अंग्रेज साम्राज्यले यस क्षेत्रलाई आफ्नो कब्जामा लिन खोजेको अवस्थामा उनले सूर्यचन्द्र झन्डा फहराएर हिमवत्खण्ड–नेपालको मौलिकतालाई जोगाउन सकेका थिए ।