
जयपृथ्वीबहादुर सिंहको जन्म बिक्रम सम्बत १९३४ भाद्र ७ गते सुदूरपश्चिम प्रदेशको बझाङमा भएको थियो। बझाङ्गी राजा विक्रम बहादुर सिंह र उनकी जेठी रानी को जेठा छोरा जयपृथ्वीबहादुर सिंह हुन् । उनले चौध वर्षको उमेरमा विक्रमसंवत् १९४८ मा बिक्रेट नामक अंग्रेजी पुस्तकलाई नेपालीमा अनुवाद गरेका थिए । विक्रम संवत् १९५५ मा बझाङबाट पिछडिएका मानिसहरुलाई काठमाडौँ ल्याई विभिन्न विषयमा तालिम दिएर बझाङमा छाला प्रशोधन, तामा, फलाम, नेपाली कागज, घरेलु कपडा र सिलाई उद्योग स्थापना गरेका थिए । आठ जना विद्यार्थीलाई काठमाडौँ पढ्न पठाइ तर सो आठै जनालाई सामान्य शिक्षा आर्जन गरेपछि बझाङका विभिन्न अड्डा, स्वास्थ्य र शिक्षण संस्थामा कारिन्दा बनाएका थिए। विक्रम सम्वत १९६२ मा काठमाडौँ को नक्सालमा अवस्थित आफ्नै घरमा सत्यवादी पाठशाला खोलेर उक्त पाठशाला विक्रम संवत् १९७० मा बजाङ सारी त्यहाँका बालबालिकालाई शिक्षा हासिल गराएका थिए। बझाङमा भूमिसुधारको व्यवस्थापन गरे। वैज्ञानिक ढंगबाट नापीको व्यवस्था गरे। विभिन्न औषधालयको स्थापना गरे । उनले मानवतावादी संस्था पनि खोले। उनको सम्मानमा बैतडी- बझाङ राजमार्गलाई जयपृथ्वीबहादुर राजमार्ग नामाकरण गरिएको छ। उनकै सम्मानमा जयपृथ्वी पत्रकार पुरस्कार स्थापना गरिएको छ। नेपालको शिक्षा क्षेत्रको विकास तथा विश्वसामु नेपाललाई चिनाउने लगायत उनका योगदानको कदर स्वरुप मन्त्रिपरिषदले जयपृथ्वीबहादुर सिंह लाई २०७९ असार छ गते१८ औं राष्ट्रिय विभूतिको रुपमा घोषणा गर्यो।